समृद्धिका लागि राजनीतिमा युवा हस्तक्षेप

राजनीतिक व्यवस्थाका आधारमा राजनीति गर्ने विधि र पार्टी संरचना फरक हुन्छ । राजनीतिक व्यवस्था परिवर्तनसँगै अबको हाम्रो मुख्य एजेन्डा आर्थिक विकास हो र हुनुपर्छ । विकास र समृद्धिको एजेन्डा लागू गर्न युवापुस्ता जबर्जस्त राजनीतिमा अगाडि आउनुपर्छ । तर, युवापुस्ताले राजनीतिलाई घृणा गरिरहेको छ । राजनीतिलाई पेसा बनाइँदा सिर्जित परिणामका कारण युवा राजनीतिबाट टाढिएको हो ।

विकासको मार्गमा बामे सर्दै गरेको हाम्रो जस्तो देशको राजनीतिमा युवाको सक्रिय सहभागिता अपरिहार्य छ । अहिले राजनीतिलाई आर्थिक एजेन्डासँग जोड्नुपर्ने वेला हो, जसका लागि युवाको सक्रिय सहभागिता अपरिहार्य हुन्छ । विकास गर्ने युवाले नै हो । भाषण र व्यवस्था परिवर्तनका लागि धेरै आन्दोलन भए, गरिए । यसर्थ, अब समृद्धिका लागि आन्दोलन हुनुपर्छ ।

अहिले हाम्रो देशमा ४० प्रतिशत युवा जनसंख्या छ । यो जनशक्ति कुनै पनि देशका लागि ‘बोनस’ शक्ति हो, जुन अरू देशमा छैन । यो शक्तिलाई सदुपयोग गरेर देशलाई समृद्ध बनाउन सक्ने प्रबल सम्भावना हामीसामु छ । हाम्रा युवाले अन्य मुलुक, विशेषतः खाडी मुलुकको समृद्धिमा निकै ठूलो योगदान दिएका छन् । तर, हामीले आफ्नै देशको विकासका लागि भने युवालाई सहभागी बनाउन सकेका छैनौँ । अब युवाशक्तिलाई देशभित्रै सदुपयोग गरी देशलाई विकसित बनाउने वातावरण निर्माण गर्नुपर्छ ।

देशको विकास गर्ने हामीले नै हो । जनसंख्याको हिसाबले हेर्दा यसमा हाम्रो देशको अवस्था निकै राम्रो छ । एकै घरमा चारजनासम्म युवा जुनसुकै काम गर्न सक्ने हैसियतका भेटिन्छन् । तर, अबको केही वर्षपछि त्यो अवस्था हुँदैन । किनकि मानिसहरू एकभन्दा बढी बच्चा जन्माउन चाहँदैनन् । धेरै भनेको दुईजना मात्र हुन सक्छन् । त्यो हिसाबले भोलिका दिनमा युवाको जनसंख्या पनि घट्नेछ । यसर्थ, अहिलेको ४० प्रतिशत युवा एकैचोटि बुढो हुनेछन्, त्यसपछि अहिलेको हाराहारीमा युवाको जनसंख्यामा कमी आउने निश्चित छ । त्यसपछि देश विकासका लागि अन्य मुलुकबाट युवालाई ल्याउनुपर्ने अवस्था आउँछ, जसका लागि देश धनी हुनुपर्छ । यस्तै अवस्था कायम रहने हो भने देश धनी हुन सक्दैन ।

हाम्रो पुस्ताले छोटो समयमा धेरै अनुभव हासिल गरिसकेको छ । हाम्रो पुस्ताको एउटै युवाले गाउँमा घाँस काट्नेदेखि विश्वको कुनाकुना पुगेर हाई टेक्नोलोजी प्रयोग गरेको अनुभव छोटो समयमै हासिल गरिसकेको छ । चप्पल–जुत्ता नलगाई स्कुल गएको व्यक्तिले विश्वको कुना–कुनासम्म पुगेर प्रविधिको प्रयोगको अनुभव संगाल्ने मौका पाएको छ । विश्वभर हाम्रै समयमा विकासको गति तीव्र भइरहेको छ । हाम्रासामु अरूले निकै ठूलो लगानी गरेर विकास गरेको प्रविधि प्रयोग गर्ने अवसर पनि छ । त्यसैले हाम्रै पुस्ताले देशलाई समृद्ध बनाउने ठूलो सम्भावना छ ।

यो पुस्ताले देशलाई समृद्ध बनाउन राजनीतिमा प्रत्यक्ष रूपले हस्तक्षेप गर्नैपर्छ । यसो गर्न सकिएन भने त्यो हाम्रो पुस्ताको ठूलो भूल हुनेछ । अबको पुस्ताको विकास र हुर्काइ फरक ढंगले हुनेछ । हाम्रो पुस्ताले ठूलो राजनीतिक व्यवस्था परिवर्तनको अनुभव पनि गर्न पायो र आर्थिक रूपले पनि अभावबाट गुज्रिँदै विश्वका सम्पन्न देशमा गएर त्यहाँको अनुभव पनि सँगालेको छ । हाम्रै पुस्ता कैयौँ देशको विकास र समृद्धिमा प्रत्यक्ष सहभागी पनि भइरहेको छ ।

विश्वभर छरिएर रहेका युवा साथीहरू जति पनि हुनुहुन्छ, उहाँहरूले देख्नुभएको होला, हाम्रो देशमा जस्तो प्राकृतिक स्रोत–साधन कुनै पनि देशमा छैन । नेपाल भूपरिवेष्टित हुनु नै आर्थिक विकासमा पछि पर्ने कारण हो भन्ने कतिपयको तर्कमा पनि सहमति हुन सकिन्न । भूपरिवेष्टित देश भन्ने एउटा समय थियो, जुन समयमा समुद्रबाट मात्रै सामान ल्याउने गरिन्थ्यो, त्यो समयमा यो तर्क ठीकै थियो । तर, अब यो तर्कमा सहमत हुन सकिँदैन । धेरै भूपरिवेष्टित देशले अकल्पनीय विकास गरिसकेका छन् ।

जलस्रोतमा पनि हामी धनी छौँ । त्यसको सदुपयोग गरेर देश विकास गर्ने वातावरण निर्माण गर्नेमा अब राजनीतिक दलबीच प्रतिस्पर्धा हुनुपर्छ । अहिले हामी जुन अवस्थामा नेपालको राजनीतिमा सहभागी भएका छौँ, त्यहाँबाट उठ्न जरुरी छ । विकासका लागि स्रोत–साधन र सामथ्र्य पत्ता लगाउने र परिचालन गर्ने विधि भए पुग्छ । अब यस्तो विधिको विकास गरेर लागू गर्ने राजनीति चाहिन्छ । वैधानिक शक्ति आर्जन गर्दा, सरकारमा गएर विधि बनाउन र लागू गर्न केही सजिलो हुन्छ तर त्यसो हुन सकेन भने पनि त्यसका लागि दबाब दिन कसैले रोक्न सक्दैन । तर, हामीकहाँ अहिलेसम्मको राजनीतिक अभ्यास यस्तो छैन । त्यसैले अब यस्तो अभ्यासको विकास पनि गर्नुपर्छ।

वर्तमान राजनीति तर्क र कुतर्कको परिधिमै सीमित छ । अनि यसले राजनीतिमा क्षमतावान् युवाको प्रवेशलाई सीमित तुल्याइदिएको छ, जसलाई नयाँ शक्तिको वैकल्पिक राजनीतिले ब्रेक गरेको छ ।

अबको राजनीति भाषणबाजी, तर्क–कुतर्क, क्रिया–प्रतिक्रियामा मात्रै सीमित रहन सक्दैन, अब राजनीतिमा विषयविज्ञ युवाको सहभागिता आवश्यक छ । त्यसका लागि नयाँ शक्ति नै किन भन्ने प्रश्न पनि उठ्छ । राजनीतिमा आउन चाहने हाम्रो पुस्ताले अरू पार्टीमा गएर उनीहरूलाई परिवर्तन गरेर विकास गर्छु भन्ने सपना नदेखे पनि हुन्छ । उनीहरूमा रूपान्तरणको सम्भावना छैन ।

७० वर्षको राजनीतिक इतिहास बोकेको पार्टीले आफ्नो घरआँगनको स्रोत–साधन परिचालन गर्न सकेको छैन भने ती पार्टीमा हामी प्रवेश गर्दा सबै समस्या हल हुन्छ भन्ने सोच्नु महाभूल हो । यो भूल गर्नबाट नेपाली युवा जोगिनैपर्छ । नयाँ शक्ति अरूभन्दा किन फरक छ भने यसको मूल नेतृत्व ४०–४२ वर्षको राजनीतिक इतिहासलाई दाउमा राखेर देशको आर्थिक विकास आफ्नै जीवनकालमा गर्नुपर्छ भनेर लागेको छ । यो हाम्रो स्वार्थी समाजसामु मूल नेतृत्वले गरेको सबैभन्दा जोखिमपूर्ण त्याग हो । त्यो त्याग देशको विकास गरौँ भन्ने पवित्र चाहनाले गरेको हो । त्यसैले देश–विदेशमा रहेका युवाको ऐक्यबद्धता र सहभागिता आवश्यक छ ।

युवाले सोच्ने भनेको आफ्नो मातृभूमिलाई दिन सक्ने योगदान के हो ? त्यो एउटै छानोमुनिबाट सिर्जना गरौँ । देश बन्दा म पनि बन्छु भन्ने भावना हाम्रो दिमागमा राखेर काम गरे देश समृद्ध हुन धेरै लाग्दैन ।
(खड्का नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी सदस्य हुन्)

My Partners